Nepali Janata Khabar

नेकपा एमाले अध्यक्ष केपीले भन्ने दशैँजस्ता चाडहरू विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा विकास भएका हुन्


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँजस्ता चाडहरु विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा विकास भएको बताएका छन् ।

विजयादशमी २०७८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएको बताएका हुन् ।

‘सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्,

‘नाता, साइनो र सम्बन्ध, तिनका महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रवन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले अत्यन्तै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।’

चाडपर्वहरु केवल पर्व र उत्सवहरु मात्रै नभएर सामाजिक प्रवन्धका आधार पनि हुन् रहेको उनको भनाइ छ । ‘हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रवन्धहरुका आधारमा विकसित भएका छन् ।

त्यसैले यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जीवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ,’ सन्देशमा भनिएको छ । त्यसैले यस्ता पर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजहीन जस्तो बनाउने उनको धारणा छ ।

सन्देशमा अध्यक्ष ओलीले चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई हटाउनु आवश्यक रहेको पनि बताएका छन् । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नरहेको भन्दै उनले यस्ता अभ्यासलाई सच्याएर चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउनु आवश्यक रहेको बताए ।

ओलीले भनेका छन्, ‘हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पनि पूरा गर्नु छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।’

साथै उनले विगत केही वर्षयता बडादशैंजस्ता महत्वपूर्ण चाड पनि विभिन्न प्रतिकूलताका बीच मनाउँदै आएकाे बताएका छन् । महाविनाशकारी भुइँचालो, नाकाबन्दी, कोभिड महामारी लगायत संकटको स्मरण गर्दै उनले प्रतिकूलताबीच पनि दशैँजस्ता चाड मनाउन भने नछोडेको बताए । न्युज २४ बाट