Nepali Janata Khabar

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकियो, अब छेउमा पार्क बन्ने ।…..


 

काठमाडौं – काठमाडौंस्थित कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको छ । पोखरीमा टनाटन पानी भरिएको छ ।काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माण प्रगतिको निरीक्षण पनि गरेका छन् ।

 

 

 

अहिले पोखरीको पहिलो चरणको काम भइरहेको छ । छिट्टै उदघाटन गरेर पोखरीलाई पर्यटन व्यवस्थापनसँग जोड्ने शाक्यको भनाइ छ । सबैले रानीपोखरी मात्रै देखेका छन् ।

 

 

 

हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण भइरहेको हो, उनले भने ।

 

 

 

आकाशे पानी संकलन र पुनःभरण तथा पानी शुद्धीकरण गर्ने योजनासहित पोखरीको पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणको दोस्रो चरणमा यसअघि प्रहरी भवन रहेको ठाउँमा पार्क निर्माण गरिनेछ ।

 

 

 

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरूप पुनर्निर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

 

 

 

 

उनका अनुसार पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन् । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ ।

 

 

परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुनर्निर्माण गरिएको हो ।