माधव नेपालको खुलासा:मलाई प्रधानमन्त्रीको अफर आइसक्यो तर विपक्षी गठबन्धनलाई धोका दिन्नँ


काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उहाँले बताउनुभयो ।

गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भन्नुभयो, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बिचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् ।’

एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताएका थिए ।

तर नेता नेपालले भने पदका लागि गठबन्धनलाई धोका दिन नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उहाँले ओलीसँग सहकार्यको सम्भावना नरहेको बताउनुभयो।

‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन,’ उहाँले भन्नुभयो, ‘प्रचण्ड र हामीबीच फुट ल्याउन उहाँले नेकपामा हुँदा पनि अनेक चाल खोज्नुभएको हो । उहाँ यस्तो खुवी भएको मान्छे हो ।’

सम्बोधनका क्रममा उहाँले एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नुभयो । ओलीमा सत्ता उन्माद रहेको भन्दै नेता नेपालले भन्नुभयो, ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई यही भएको हो ।’