विभागले भन्यो चामल, दालजस्ता दैनिक उपभोग्य वस्तु तीन महिनालाई स्टक छ ?

308Shares

चामल, दालजस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुहरू पूर्ण रूपमा लकडाउन भएको अवस्थामा पनि तीन महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको बताए ।

 

 

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रूपमा भइरहेको पौडेलले बताए । मंंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्यपद्धार्थको उपलब्धता सहज रूपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद सञ्चय नगर्न पनि आग्रह गरे ।

 

 

खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए । उनले भने, ‘चामल, दाल, नुन, तेल, चिनीलगायतका न्यूनतम वस्तुको स्टक करिब तीन महिनालाई अझै पनि हामीलाई सप्लाईमा समस्या छैन । नआए पनि पुग्छ । खाद्यपद्धार्थको आपूर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनुभो भने मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।

 

दैनिक उपभोग्य वस्तुहरूको अस्वाभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउने लाई कारबाही गरिने महानिर्देशक पौडेलले बताए । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको उनको भनाइ छ । उनले भने, ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा वस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धिलगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।

 

 

उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनै पनि प्रकारको समस्या नभएको पनि बताए । दैनिक उपभोग्य वस्तुहरू, मास्क, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ । उनले भने, ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरू छन् । त्यो गोदामहरूबाट काठमाडौंसम्म ल्याउनका लागि दैनिक उपभोग्य वस्तुका साधनहरू, मास्क स्यानिटाइजरजस्ता अहिले अत्यावश्यक भएका वस्तुहरू सँगसँगै उद्योगको कच्चा पद्धार्थका लागि आउने सवारीसाधनलाई रोकिएको छैन ।

 

 

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा मूल्यवृद्धि भएको बताए । उनले भने, ‘बजारमा दुई–तीन वस्तुहरूको अस्वाभाविक मूल्यवृद्धि छ । वृद्धि हुनुपर्ने कारण केही पनि छैन । चिनीको मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेहरूले आपूर्तिमा असहजता छ भनेर हल्ला फिँजाएर आफ्नो अभीष्ट पूरा गर्न लागे । मास्क, स्यानिटाइजरमा कालोबजारी छ । त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको अनुगमनमा जानुपर्छ । उपभोक्ता आतंकित छन् । आतंकबाट रोक्नुपर्छ ।

 

 

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । यो समाचार नयाँ पत्रिका, बाट साभार गरिएको हो

308Shares