अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खट्न निर्देशन

15Shares

काठमाडौँ, वैशाख १९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ ।

 

 

मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई काम गर्न निर्देशन दिएको हो ।

 

 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आज मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।

 

 

मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ ।

 

 

ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उहाँले जानकारी दिनुभयो ।

 

15Shares