रसुवागढी नाकाबाट १ सय ५६ टन चिनियाँ खाद्य सामग्री आयात

130Shares

रसुवा – चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय ५६ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ ।

 

गएको साउनदेखि चैत मसान्तसम्म १ सय ५६ टन खाद्य सामग्री आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

 

तथ्याङ्क अनुसार फूल तथा सागपात ३५ टन, खाद्यान्न दलहन तथा अन्य ५४ टन, मसलाजन्य ३.४ टन, दूधजन्य ६.८, मासुजन्य ३.४, चियाजन्य १२.५ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री ४१.१ टन आयात भएको हो ।

 

नाकाबाट सामग्रीको आयात बिस्तारै बढ्दै जाँदा खाद्य सामग्रीको आयात केही बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । ‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’, उहाँले भन्नुभयो, ‘नाकामा चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय ५६ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । तर सहज नहुँदा सामग्री धेरै आएको छैन ।’

 

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।

 

आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे’, उहाँले भन्नुभयो, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’

 

कार्यालयले गएको साउनदेखि अहिलेसम्म १ सय ६३ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैतमा ६७ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।

 

गएकाे आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । २०७६ माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना गरेको थिएन ।

 

खाद्य सामग्रीको लेबलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गएकाे आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो । रसुवागढी नाकाबाट पछिल्लो डेड वर्षदेखि नेपाली सामग्री निर्यात भएको छैन ।

130Shares