पत्रकार महासंघको निर्वाचनका लागि उम्मेदवारी दर्ता, अधिकांश पदमा बागी उम्मेदवार…


काठमाडौं । नेपाल पत्रकार महासघंको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ ।

 

अध्यक्षका लागि गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी पाँच जनाको उम्मेदवारी परेको हो । तीमध्ये नेपाल प्रेस युनियनसहित १२ संगठनको समर्थनमा पोख्रेल उम्मेदवार बन्नु भएको हो भने प्रेस चौतारीको ओली पक्षबाट निर्मला शर्माले उम्मेदवारी दिनुभएको हो ।

 

बाँकी तीनमध्ये बुढाथोकीले दलिय सिन्डीकेटविरुद्ध आफ्नो उम्मेदवारी भन्नु भएको छ भने दाहाल युनियन निकट र पाठक चौतारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुनुहुन्छ ।

 

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ध्रुब लम्साल, माधव नेपाल, रमेश विष्ट, रामजी दाहालको उम्मेदवारी परेको छ । लम्साल र नेपाल चौतारीनिकट र विष्ट र दाहाल युनियननिकट हुुनुहुन्छ ।

 

उपाध्यक्ष (महिला)मा चौतारीको दाना सुवेदी र युनियनको बाला अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

 

उपाध्यक्ष (समावेशी)मा अवधेश झा, उदय जिएम , मोहनकुमार सिंह, रेमवहादुर विश्वकर्मा, र शीतलप्रसाद महतो उम्मेदवार हुनुहुन्छ भने महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतमले प्रतिश्पर्धा गर्न लाग्नु भएको छ ।

 

अन्य सवै पदमा पनि निर्धारित पदभन्दा धेरै जनाको उम्मेदवारी परेकाले अहिलेसम्म कोही पनि निर्विरोध हुन सकेको छैन । नेपाली रेडियो नेटवर्ककी गोमा परियारले पनि दलित महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

 

प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट यही चैत्र २५ गते देशैभरी महासंघका सदस्यहरुले केन्द्र, प्रदेश र जिल्ला समितिका उम्मेदवारहरुलाई मतदान गर्ने कार्यक्रम रहेको छ ।