सुरु भयाे कतारमा श्रमिकका लागि नयाँ न्यूनतम तलब कार्यान्वनमा सक्दो सेयर गरौ

44Shares

काठमाडौँ ।

 

कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई शनिबारदेखि कार्यान्वयनमा ल्याएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारीका लागि ६ महिना अगाडि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

 

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्ने बाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।

 

मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनु पर्ने छ भने खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरेको छ ।

 

कतार सरकारको मन्त्रीस्तरीय बैठकले जारी गरेको २०२० को कानुन नम्बर १७ अनुसार अदक्ष श्रमिकको न्यूनतम तलब, खाना र आवासबापत पाउने सुविधा निर्धारण गरेको हो । अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिएमा श्रमिकलाई अनिवार्य एक हजार रियाल तलब मात्रै दिए पुग्छ ।

 

कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ । ‘अदक्ष श्रमिकका लागि यो खुसीको कुरा हो । कतार सरकार आफैले निर्धारण गरेपछि श्रमिकहरुले तलब पाउने विषयको ग्यारेन्टी गरेको छ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने,‘सबै रोजगारदाताबाट कार्यान्वयन हुनेमा हामी आश्वस्त छौं ।

 

 

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगाराता मुलुक बनेको छ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो ।

 

रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रुपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेका थिएनन् । कतारले पनि रोजगारदाता र श्रमिकबीच हुने सम्झौतालाई मात्रै आफूले कार्यान्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्षदेखि भने ७५० रियाल भन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छोडेको थियो ।

 

मन्त्रालयले कतारमा काम गर्ने सबै देशका नागरिकको लागि बिनाभेदभाव नगरी समान तलब तोकेको जनाएको छ । यसले श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई थप बलियो बनाई मर्यादित श्रम बजार बनाएको मन्त्रालयको दाबी छ ।

 

यसलाई कडाइका साथ कार्यान्वयन गर्न बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणालीलाई थप प्रभावकारी बनाइएको मन्त्रालयको भनाइ छ । कतारले ५ वर्ष अगाडिदेखि नै श्रमिकलाई प्रत्येक महिनाको पहिलो साताभित्र बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणाली व्यवस्था गरेको थियो । त्यसभन्दा अगाडि कामदारको बैंक खाता हुने गरेको थिएन ।

 

तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र बनाएको छ । कामदारहरूले सिधै प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा उजुुरी दर्ता गराउन सक्नेछन् । यसका अतिरिक्त, आफ्नो मोबाइल फोनमा ‘अमेर्नी’ नामक एप्स राखेर त्यसका माध्यमले नेपालीलगायत ३३ भाषामा उजुरी दिन पनि सकिने व्यवस्था पनि मिलाएको छ ।

 

 

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)ले कतारले ऐतिहासिक हिसाबले श्रम कानुनलाई शृंखलाबद्ध रुपमा सुधार गर्दै लगेको भन्दै यसको स्वागत गरेको छ । ‘नयाँ कानुनबाट कतारमा काम गर्नेमध्ये २० प्रतिशत कामदारलाई सिधै राहत पुगेको छ । यो तलब वृद्धिले कामदार र उनीहरुको परिवारको जीवन सुधारमा सहयोग पुग्नेछ,’ आईएलओ कतार कार्यालयका म्याक्स टुनोनले भने,‘कतारले यसलाई सुनिश्चित गर्नका लागि तलब नदिने कम्पनीमाथि कारबाही र दण्ड जरिवाना समेतको प्रावधान ल्याएको छ ।’

 

कतारमा कार्यरत नेपालीको ठूलो हिस्सा भने अझै अदक्ष श्रमिककै हैसियतमा काम गर्ने गरेका छन् । सीपयुक्त काम गरे पनि तलब भने अदक्ष श्रमिककै हैसियतमा दिइरहेको कामदारहरु बताउँछन् ।

 

हामी अहिलेसम्म ओभरटाइमले नै बाँचिरहेको हो । तलब ७५० रियाल थियो । अब एक हजार रियाल हुँदा हाम्रो ओभरटाइम पनि बढ्ने गर्छ,’ ७ वर्षदेखि त्रिसिस कम्पनीमा कार्यरत मीनराज सिवाकोटीले भने,‘यो सुधारले पक्कै हामीलाई फाइदा पुग्नेछ । अब कामअनुसारको तलब निर्धारण गर्नुपर्छ ।

44Shares