आन्तरिक कलह यथावत्, अन्तरपार्टी चुनावी तालमेलमा मरिहत्ते गरेपछि

काठमाडौं, भदौ २६ । सरकारले घोषणा गरेको संघीय र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूबीच चुनावी माहोल तातिसकेको छ । आफ्नो पक्षमा दर्विलो उपस्थिति देखाउने नाममा दलहरू आन्तरिक कलहलाई यथावत् छाडेर अन्तरपार्टी एकतामा बढी जोडबल गरिरहेका छन् ।

 

 

खास गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा समाजवादी, राप्रपाका नेता कार्यकर्ताहरूले आफ्नो आन्तरिक संगठन सुदृढीकरणमा भन्दा पनि अरू दलहरूसँगको चुनावी तालमेललाई जोड दिएर चुनाव जित्ने रणनीतिमा देखिएका हुन् ।

 

वर्तमान सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी निर्वाचनको भाबण्डा मिलाउने अन्तिम गृहकार्यमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पूर्वपञ्चहरूको पार्टी राप्रपा, राप्रपा नेपाललगायत तराईका केही साना दलहरूलाई नै भए पनि चुनावी तालमेल गरेर जाने पक्षमा अध्यक्ष ओलीसहितका नेताहरू रहेका छन् ।

 

 

विशेष गरी दलका पहिलो पुस्ताका नेताहरू गठबन्धनको विकल्प नरहेको भन्दै लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राजमोका नेता चित्रबहादुर केसी एक ठाउँमा उभिएका छन् ।

 

उता नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल, जनमुक्ति पार्टीलगायत साना कम्युनिस्टहरू समेत बटुलेर जिल्ला तहमा चुनावी तालमेल गर्ने पक्षमा एमाले छ । फरक वैचारिक धार भएका दलहरूबीचको चुनावी एकताले राम्रो सन्देश नदिए पनि दुई समूहबीचको चुनावी परिणाममा प्रतिस्पर्धा गर्न भने सहयोग गर्नेमा नेताहरू सहमत छन् । तर यसले राजनीतिक वैचारिक धरातल भने शून्यतातर्फ लैजाने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

 

वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा दुई–दुईपटक विघटन गरेर देशमा अस्थिरताको बिजारोपण गर्ने एमालेलाई पाखा लगाउने दाउमा छन् । नेपाल समाचारपत्र दैनिकबाट

 

सम्बन्धित समाचार